दमौली– रुखबाट लडेर घाइते तनहुँको भानु नगरपालिका–१३ अठभैयागाउँ निवासी नजिरा खातुनको उपचारार्थ तनहुँका मुस्लिम समुदायले आर्थिक सहयोग जुटाएका छन्।
गत माघ १५ गते रुखबाट लडेर घाइते खातुनको उपचारमा सहयोग पुर्याउन मुस्लिम समुदायले रु दुई लाख ६२ हजार आठ सय ५१ जुटाएका हुन्।
दमौली मुस्लिम समाजका युवाहरूको पहलमा रु एक लाख ७१ हजार नौ सय ५५, नुर मुस्लिम महिला समूहको पहलमा रु ७५ हजार आठ सय ९६, दमौली मुस्लिम अन्जुमन कमिटीबाट रु २० हजार गरी कुल रु दुई लाख ६२ हजार आठ सय ५१ सहयोग जुटाइएको हो।
उक्त रकम आज पोखरास्थित गण्डकी मेडिकल कलेजमा पुगेर घाइतेकी नातिनी रविना मियाँलाई हस्तान्तरण गरिएको छ।
दमौली मुस्लिम अन्जुमन कमिटीका उपाध्यक्ष रम्जान अली, मुस्लिम युवा अयुब मियाँ, सुदीप गफ्फार, मुस्ताफा मियाँ, खालिद अली र मुन्नी खातुनले अस्पतालमा पुगेर आज उक्त रकम हस्तान्तरण गरे।
घाइते मियाँको उपचारका लागि दमौली मुस्लिम युथ र नुर मुस्लिम महिला समूहले रकम सङ्कलन अभियान चलाएका थिए।
उक्त अभियानमा खाडी मुलुक, युके, अष्ट्रेलियामा रहेका तनहुँवासीले सहयोग गरेको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए। घाइते मियाँको उपचारमा सुधार भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।