काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडि) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा.मार्टीन शुल्जले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको र यसैको माध्यमबाट लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने प्रयत्न भइरहेको बताए।
उनले नयाँ–नयाँ प्रविधिको वर्तमान युगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत् नेपालजस्तो मुलुकमा जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने सम्बन्धमा एफइएसजस्तो संस्थाले वैचारिक बहस चलाउनुपर्ने पनि बताए।
राष्ट्रपति पौडेलले नेपालीहरूले लामो संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैं बनाएको र उक्त संविधानले समाजवाद नजिक पुर्याएको बताउँदै त्यसैमार्फत् लोकतन्त्रलाई अझ सुधार गरेर जनताको हितमा कसरी लगाउने भन्नेमा प्रयत्नशील रहेको स्पष्ट पारे।
उनले नेपाल र एफइयसबीच यसबारेमा गहिरो छलफल र विमर्श आवश्यक रहेको बताउँदै यसमा आपसी सहयोगको खाँचो औंल्याएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सो अवसरमा डा शुल्जले नेपालको संविधान अत्यन्त प्रगतिशील र उदाहरणीय रहेको उल्लेख गर्दै नेपालमा लोकतन्त्र सुदृढीकरणको साक्षी बन्न एफइएस नेपालमा स्थापना भएको हुनाले यसका लागि हरतरहका सहयोग विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।