बुटवल– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन्।
मन्त्रीहरुको कार्य प्रगतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बताए पनि कांग्रेस उपसभापतिसमेत रहेका मन्त्री गुरुङले तत्काल मन्त्रीमण्डल परिवर्तन हुने अवस्था नरहेको बताएका हुन्।
नेपाल प्रेस युनियन रूपन्देहीले बुधबार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सत्तारुढ दलका नेताहरुबीच तत्काललाई अहिलेकै मन्त्रीमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको बताए।
मन्त्री गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ले गठबन्धनभित्र तरंग ल्याए पनि खासै असर नपार्ने दाबी गरे। कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरू भएको मन्त्री गुरुङको भनाइ थियो।
उनले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठीक छ। तर मन्त्रीहरूको पर्फमेन्स चाहीँ देखाउनुपर्छ भन्ने भएको छ। मन्त्रीहरू तत्कालका लागि मन्त्री फेरबदल हुँदैन।’
मन्त्री गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउनेगरी आफू क्रियाशील रहेको पनि बताए। सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टिआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ।
हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।