काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा एमाले र राप्रपाबीच कोशी प्रदेशमा तालमेल भएको छ। दुवै पार्टीले एकएक उम्मेदवारलाई सघाउने सहमति भएको कोशी प्रदेश सभामा एमालेका प्रमुख सचेतक रहेका रेवती भण्डारीले जानकारी दिए।
सहमति अनुसार, राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशीमा राप्रपाले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने छ। कोइराला महिला समूह अन्तर्गतकी उम्मेदवार हुन्। त्यस्तै, एमालेले राप्रपाका उद्धव पौडेललाई सघाउने छ। पौडेल अन्य समूहका उम्मेदवार हुन्।
महिला समूहबाट एमालेकी कोइरालाका अतिरिक्त माओवादी केन्द्रकी चम्पादेवी कार्की उम्मेदवार छन्। त्यस्तै, अन्यतर्फ राप्रपाका पौडेलका अतिरिक्त कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेकै पर्शुराम अधिकारी उम्मेदवार छन्। एमाले र राप्रपाको तालमेल भएपछि अधिकारीको उम्मेदवारी ‘निष्क्रिय’ हुनेछ।
एमाले र राप्रपाबीच तालमेल भएजस्तै, कोशी प्रदेशमा सत्ता गठबन्धनका दलहरूले साझा उम्मेदवार तय गरेका थिए। जसअनुसार, गठबन्धनबाट महिलामा चम्पादेवी कार्की र अन्यमा कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका थिए।
अब कोशी प्रदेशमा महिलातर्फ रुक्मिणी कोइराला र चम्पादेवी कार्कीबीच मुख्य प्रतिस्पर्धा हुनेछ। त्यस्तै, अन्य समूहमा पौडेल र सिटौलाबीच प्रतिस्पर्धा हुनेछ। सिटौला राष्ट्रिय सभा सदस्य बन्दै अध्यक्षसम्म बन्ने उम्मेदवारको रुपमा हेरिएको छ। एमाले र राप्रपाबीको गठबन्धनले उनलाई असर पार्ने वा नपार्ने विषयमा चासो बढेको छ। स्मरणीय छ, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन हुँदा सिटौला पराजित हुन पुगेका थिए।
संसदीय दलका नेता भण्डारीले भने नतिजा आफू अनुकूल आउनेमा आशावादी भएको बताए। भने, ‘(मतभारमा बहुमतको) अलि नजिक पुगियो। अब आशावादी हुने हो।’
कस्तो छ कोशीको अंकगणित?
राष्ट्रिय सभा निर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्यहरू, सो प्रदेशभर रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षले मत दिन्छन्।
कोशी प्रदेशमा प्रदेश सभा सदस्यको संख्या ९३ छ। त्यस्तै, स्थानीय तहको संख्या १३७ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २७४ हुनेछ। यसरी कोशी प्रदेशको कुन मतदाता ३६७ र कुल मतभार १०, १३५ हुनेछ।
![416196090_1839145099878095_3103723581316197007_n-1705917720.jpg](https://nepallive.com/uploads/posts/416196090_1839145099878095_3103723581316197007_n-1705917720.jpg)
महिला र अन्य दुवै समूहमा दुईदुई जना उम्मेदवार भएका कारण कुल मतभार (१०, १३५) को बहुमत अर्थात् ५,०६८ मत भए जित सुनिश्चित हुन्छ।
कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा नेपालबीच गठबन्धन छ। उनीहरूले साझा उम्मेदवार तय गरेका कारण ती चार दलको एकीकृत मत एकै ठाउँमा खस्ने आकलन गर्न सकिन्छ। यो गठबन्धनसँग ५,४७४ मत छ। त्यति मत जितका लागि पर्याप्त हुन्छ। अर्थात्, चम्पादेवी कार्की र कृष्णप्रसाद सिटौलाले सहजै जित्ने देखिन्छ।
अर्कोतिर, एमाले र राप्रपासँग ४, ६०४ मत छ। भण्डारीले बहुमतको नजिकै पुगेको दाबी गरे पनि गठबन्धन दलबाट निर्वाचित जनप्रतिनिधिहरूको उल्लेखनीय संख्याले एमाले-राप्रपाका साझा उम्मेदवारलाई मत नदिएमा जित्ने सम्भावना देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।