काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउनका लागि सरकारले प्रयास गरिरहेको बताएका छन्। यद्यपि नेपालले भन्नेबित्तिकै रुसले मान्दिहाल्ने स्थिति नरहेको उनको भनाइ छ।
युगान्डा भ्रमणबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालीलाई सेनामा भर्ना गरिएको विषयमा रुसलाई कूटनीतिक नोट पठाइएको बताए। युगाण्डामा असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनका क्रममा रुसी उप विदेशमन्त्रीसँग भेट गरेर पनि नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरिएको प्रधानमन्त्रीले उल्लेख गरे।
‘हाम्रो देशको सम्झौता भएका भारत र बेलायत बाहेक अन्य कुनै ठाउँमा पनि नेपाली सेनालाई भर्ना गरिँदैन भन्ने कुरा छ,’ प्रधानमन्त्रीले भने, ‘परराष्ट्रमन्त्रीले कूटनीतिक नोट पठाइसक्नु भएको छ। पटक–पटक कुरा पनि भएको छ। युगाण्डामा रुसका उप विदेशमन्त्रीसँग भेटेर नै फिर्ता पठाइदिनुपर्यो भनेर कुरा भएको छ। मारिएकाहरूको क्षतिपूर्तिको विषयमा पनि कुरा भएको छ।’
प्रधानमन्त्री प्रचण्डले जागिर खाने नाममा राज्यको नीति र संविधानको मर्म विपरीत युवाहरुले जहाँ पायो त्यहीँ जाने प्रवृत्ति नराम्रो भएको बताए। यस्तो प्रवृत्ति रोकिनुपर्ने उनको भनाइ छ। ‘जहाँ पायो त्यहीँ। जागिर खाने नाममा राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने, अझ बाटो छलेर जाने। यो तरिका भएन,’ प्रधानमन्त्री प्रचण्डले भने।
अहिले रुस र युक्रेनसँग कुरा भइरहेको भए पनि उनीहरूले कुन हदसम्म नेपालको कुरा सुन्छन् भन्ने कुरा महत्त्वपूर्ण भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।