काठमाडौं- राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन आबद्ध दलहरूले गठन गरेको 'राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति- २०८०'का प्रतिनिधिहरू प्रदेश स्तरमा खटिने भएका छन्। समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो।
‘राष्ट्रिय सभा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा यस समितिबाट जाने निर्णय गरियो’, समितिका सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
शनिबारको बैठकमा राष्ट्रिय सभा निर्वाचन २०८० का सन्दर्भमा सात वटै प्रदेशका उम्मेदवारहरूसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरिएको छ।
राष्ट्रिय सभाको यही माघ ११ मा हुने निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले साझा उम्मेदवारी दिएका छन्। साथै, निर्वाचन केन्द्रित भएर समन्वय समिति पनि गठन गरेका छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा गठित सो समितिमा माओवादी केन्द्रबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टीबाट मनिष सुमन सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।