काठमाडौं- कोशी प्रदेश सरकारले पहिचान पक्षधरहरूसँग वार्ता गर्न टोली गठन गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय टोली गठन गरेको हो।
भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा गठन गरिएको टोलीको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए।
वार्ता टोलीमा रहेका दुई मन्त्रीमध्ये जगेबु एकीकृत समाजवादी र उप्रेती माओवादी केन्द्रका हुन्। वार्ता टोलीमा सबैभन्दा ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेसको प्रतिनिधित्व छैन।
तत्कालीन प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि पहिचान पक्षधरहरूले विभिन्न किसिमका संघर्षका कार्यक्रम गर्दै आएका छन्। उनीहरूले जातीय पहिचानका आधारमा नाम राख्नुपर्ने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।