काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गरेका छन्। अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरे।
शुक्रबार काठमाडौंमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भाषाको सवाल, राष्ट्रिय पोसाकको सवालमा अदालतले पनि मधेसलाई साथ नदिएको बताए।
सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेशमा कम बजेट दिने काम समेत भएको भन्दै अध्यक्ष ठाकुरले मधेसमाथि भएको विभेदविरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको बताए।
अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि पनि आफूहरुले संघर्ष गर्नुपर्ने अवस्था रहेको तर्क गरे।
ठाकुरले भने– ‘विभेद जारी छ। अदालतबाट पनि हामीले जुन न्याय पाउनुपर्ने हो, त्यो न्याय चाहे त्यो भाषाको कुरा हुँदाखेरी, ड्रेसको कुरा हुँदाखेरी व्यवहारमा हामीले यो सबै कुरा पाएका छौँ। तर जहाँसम्म वैधानिकताको प्रश्न छ। कुनै पनि भाषा, संस्कृति जब हामी विविधताले भरिएको देश हो। कुनै खास भाषा, खास संस्कृति कुनै खास ड्रेसलाई नेशनल ड्रेसको रुपमा हेरियो भने अरु के हुन्छ त? अरुको भाषा, अरुको संस्कृतिलाई के भन्ने त? यो अवस्था अहिले पनि छँदैछ। रोजगारका जहाँसम्म मामिला छ। यदि जुन सुविधा दिइएको छ, त्यहाँ असफल भयो भने त्यो जेनरलमा पनि दिन पाउँदैन। थोरबहुत त्यसले राहत दिएको छ। त्यहाँ पनि विभेदको सामना गर्नुपरेको छ। आज हेर्नुस् कति हाम्रो सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेश हो। तर मधेस प्रदेशको बजेट सबैभन्दा कम छ। जनसंख्या सबैभन्दा बढी, बजेट सबैभन्दा कम। के कारणले हो, त्यो उहाँहरुलाई थाहा छ। हामीले यसमा भनि सकेको छौं, विरोध पनि गरेका छौं। अर्को उपनिवेश शब्दको कुरा आयो। उपनिवेशको आफ्नो बोली हँदैन, आफ्नो भाषा हुँदैन। उसको संस्कृति हुँदैन। त्यो हामी अहिले पनि भोगीराखेका छौं। र, हाम्रो जुन संघर्ष छ। संसारले देशको आन्तरिक मामिला भनेर विश्वबाट पनि उपेक्षित भइराखेका छौं। मधेसमा मानव अधिकार उल्लंघन भइरहेको छ। जनसम्हार भइराखेको छ। मधेश प्रदेशले वैधानिक मान्यता त पाएको छ। संविधानले भनेको छ–प्रत्येक प्रदेश सभाले आफ्नो नाम राख्न पाउनुपर्छ। त्यो हिसाबले त्यहाँको नामकरण गरिएको हो। वैधानिक मान्यता त प्राप्त गरेको छ। तर अन्य प्रदेशहरुमा त मधेसीहरु अहिले पनि अल्पमतमा छन्। मधेस भएर पनि पूर्ण अधिकार उनीहरुले नपाएको कुरा यहाँहरुले सुनिहाल्नु भएको छ। यसको लागि हाम्रो संघर्ष अहिले पनि जारी छ। अहिले पनि हामी संघर्षमा उत्रिनुपर्ने अवस्था हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।