काठमाडौं- युगान्डाको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।
‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगाण्डाको राजधानी कम्पालामा शनिबारसम्म चल्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सम्बोधन गरेपछि उनी त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार युगान्डामा रहेका नेपालीहरुसँग अन्तर्क्रिया समेत गरेका छन्।
सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ। नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो।
स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।