काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन आबद्ध दलहरूको वंश, गोत्र र जात छुट्याएका छन्। बिहीबार नेपाल खेलकुद महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धनमा रहेका दलहरूको घाँटी एक ठाउँमा जोडिएको बताए।
‘घाँटी मात्रै होइन, सिंगै शरीर जोडिएको छ। यी भ्रष्टाचारी वंशका हुन्। कमिशनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। जात देशद्रोही हो। यी एकै खालका हुन्। त्यसकारण यी एकै ठाउँमा बस्छन्’, ओलीको आरोप थियो।
उनले ‘सरकार भ्रष्टाचार र भ्रष्टाचारको संरक्षक, तस्करी र त्यसको संरक्षक, कमिशनखोरी र त्यसको संरक्षक, आयोजक र संरक्षक’, रहेको भन्दै यस स्थितिमा आफूहरूले मिसन २०८४ पर्खिन नसक्ने अवस्था पनि आउन सक्ने बताए। ‘देश बर्बाद हुन लाग्यो भने कहाँ हामीले मिसन २०८४, २०८४ को चुनाव भनेर हुन्छ?’
ओलीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताए। त्यसका निम्ति आफूहरूले अत्यन्त सशक्त रुपमा सुसंगठित हुनुपर्ने उनको भनाइ थियो।
ओलीले अहिलेको सरकार तरकारी बारीको बुख्याचा जस्तो भएको बताए। भने, ‘केही गर्ने होइन त्यसले। अहिले त त्यसका टाउकामा सुगा पनि बस्छ। त्यसका टाउकामा काग पनि बस्छ। सबै बस्छ। किनभने, चिनीसके यो बुख्याचा हो। यो खासै केही होइन। यसले केही गर्न सक्दैन भन्ने चिनीसके। त्यसका टाउकामा बस्छ। त्यस्तो बुख्याचा, निकम्मा सरकार छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।