काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिएका छन्।
२६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका हुन्।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको १ वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्याएको भनेर बताएको उल्लेख गर्दै सुवालले सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न प्रधानमन्त्रीलाई सुझाव दिए। अघिल्लो सरकारहरुले गरेको भए पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने सुवालको भनाइ छ।
राणा शासन र पञ्चायतविरुद्ध लडेकाहरुले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने सुवालको भनाइ छ। जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न पनि सुवालले चेतावनी दिए। उनले नेपालका प्रधानमन्त्रीहरुसँग देश विकासको खाका नरहेको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।