काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघे सकराँति विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले निरंकुशताका विरूद्ध संघर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताए। थापालाई राष्ट्रिय विभूति घोषणा गर्नका लागि लागि आफ्नो तर्फबाट पहल गर्ने प्रचण्डले उल्लेख गरे।
प्रधानमन्त्री प्रचण्डले भने, ‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईंहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु। यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहीदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।