काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची परियोजनाबाट वितरण हुने पानीको पाँचौंपटक उद्घाटन गरेको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यंग गरेका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले भनेका छन्, ‘हामीसँग भएको एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर।’
मेयर बालेनले मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण कार्यको यसअघि भएका उद्घाटनलाई पनि उल्लेख गरेका छन्। ‘मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस्’ भन्दै बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरी र हालका प्रधानमन्त्री प्रचण्डले गरेको उद्घाटनको मिति समेत उल्लेख गरेका छन्।
मेयर बालेनले राजनीतिक स्टन्टका लागि प्राविधिक पक्षलाई बेवस्ता गरेर यसअघि मेलम्चीको पानी उद्घाटन भएको उल्लेख गर्दै अहिले पनि त्यसबारे सोच विचार नगरिएको बताएका छन्।
‘प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनीतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौं ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो। राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुन: समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो,’ बालेनले भनेका छन्, ‘यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ।’
बालेनले सामाजिक सञ्जालमा लेखेको सन्देश:
हामीसँग भएको एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर।
मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस् :
१. २०७७ फागुन– तत्कालीन प्रम केपी ओली
२. २०७७ चैत्र– तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी
३. २०७९ वैशाख– तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी
४. २०७९ मंसिर– तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी
५. आज (२०८० माघ १)– प्रम पुष्पकमल दाहाल
अर्थात्, विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो। मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर वि. स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसको २ वर्षपछि २०५७ सालमा आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो। तर सुरुङ खन्न सुरु गर्न पनि ११ वर्ष लगाएर २०६८ सालबाट मात्रै सुरुङ खन्न थालियो। त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरु नै फेरिएका थिए। मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तिको सूची त झन् निकै लामो बन्ला। मेलम्चीका नाममा अर्बौँका गाडी किनिएका थिए। एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना। तर काठमाडौंमा पहिलोपटक पानी झर्न त्यसको ९ वर्षपछि मात्रै सम्भव भयो।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ फागुनमा मेलम्चीको पानी काठमाडौ झार्ने कीर्तिमानका लागि उद्घाटन त गरियो, तर कीर्तिमानकै लागि प्राविधिक पक्षलाई जोखिममा राखियो। जसको असर सोही वर्षमा नै देखियो। बाढीको लेदो पसेर तथा बाढीले (1. Weir 2. Intake 3. Gravel flushing out let 4. Sand flushing system 5. Diversion tunnel outlet 6. Gates लगायतका) संरचनाहरु ध्वस्त पारेपछि मेलम्ची बन्द भयो। कीर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउँने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो। त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौँ लगानीमात्र जोखिमपुर्ण बनाइएन, काठमाडौंबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो। र, देशव्यापी रूपमा नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल गर्यो। अनि सँगसँगै, व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौं झारेर उदघाटन गर्ने कुप्रथाको सुरूवात भयो। त्यसकै सिलसिलाको नयाँ संस्करणको उदघाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो।
विडम्बना! अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ। मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ। त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ। बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ। बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौँ समय र अर्बौंको लागत लाग्न सक्छ। वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरु निर्माण भइसकेका नै छैनन्। यसैले वर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ। हिउँदमै पनि लेदो नथिग्राइ (desilting नगरी) सिधै diversion canal बाट पानी सुरुङमा लैजाँदा त्यसमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केही समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ। यसका लागि नयाँ intake खोलाको माथितिर राम्ररी study गरेर सार्न आवश्यक छ। त्यस्तै, लेदो थिगार्ने संरचना (Desilting Basin) सुरूङ भित्रै बनाउन उचित हुन्छ।
प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौं ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो। राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुन: समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो। यसैले छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनीतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नुपर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ।
हामी आलोचना मात्र गर्न चाहन्नौँ। यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस्। हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ। यो मौका दिनुहुनेछ भन्ने आशा लिएका छौँ। सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस् धन्यवाद , हाम्रो मन साच्चै नै जित्नु भयो भनेर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।