काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सोमबारै सार्वजनिक गर्ने निर्णय गरेको छ।
नतिजाको सम्पूर्ण काम सकिएकाले सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिए।
उनका अनुसार अहिले केही समयभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ। सरकारले यसपालिदेखि एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख २९ को मिति तय गरिएको थियो। तर समयमै काम सकिएकाले एक दिनअगावै नतिजा सार्वजनिक गर्न लागिएको हो।
विगतमा करिब तीन महिना लाग्दै आएको एसइई नतिजा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो पटक एक महिनामा ल्याउन लागेको हो।
यसअघिका वर्षमा एसइईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो साता सार्वजनिक गरिन्थ्यो। चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको थियो।
यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।
त्यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।