काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही ऐनको नाम लिँदै आफ्नो नेतृत्वमा बनेनन् वा कार्यान्वयन भएनन् भने अरुको नेतृत्वमा नबन्ने डर रहेको बताएका छन्। सोमबार अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रममा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।
‘संघीय निजामती ऐन बनेन, प्रहरी समायोजन ऐन कार्यान्वयन भएन या संघीय शिक्षा ऐन कार्यान्वयन भएन भने, संघीय प्रहरी ऐन अगाडि बढेन भने, मलाई डर छ, अरुको नेतृत्वमा हुँदैन कि’, उनले भने।
उनले नेपाली जनतालाई अधिकारसम्म गराउने निकै ठूलो जिम्मेवारी आफ्नो काँधमा रहेको बताए। ‘हामीले एउटा संकल्प लिएको हो। सिंहदरबारको अधिकार गाउँगाउँमा, जनताको घरघरमा पुर्याउने भनेर जो संकल्प लिएको हो। त्यो संकल्प पूरा गर्ने जिम्मेवारी अलि बढी मेरो छ भन्ने मैले महसुस गरेको छु। मैले नेतृत्व गरेको पार्टीको छ। र हामी गठबन्धनको छ’, उनले भने।
प्रधानमन्त्री प्रचण्डले संघीय निजामती ऐन तयार भएको र आउने सदनको पहिला नै त्यसलाई टेबल गरी सकेसम्म छिटो पारित गर्ने प्रक्रियामा अगाडि बढिसकेको बताए। उनले प्रहरी समायोजन ऐनका सम्बन्धमा पनि आफूले पटकपटक गृह मन्त्रालय र प्रहरी प्रमुखहरूसँग बैठक बसेको बताए। भने, ‘प्रहरी समायोजन ऐन कार्यान्वयनमा लैजाने र प्रदेशलाई बलियो बनाउने प्रक्रिया अगाडि बढाइसकेको छु। केही समयभित्रै त्यो कार्यान्वयनमा जान्छ।’
उनले आजकाल आफू १० बजे नै सिंहदरबार पुग्ने र सबै भन्त्रालयको ब्रिफिङ लिने बताए। ‘उनीहरूलाई टार्गेट दिन्छु। एक महिनाभित्र टार्गेट पूरा गर्न सकेनन् भने तिनीहरूलाई हेरफेर गर्नेसम्मको प्रतिबद्धता मैले व्यक्त गरेको छु। आफ्नै कार्यशैलीबाट सरकारलाई सुधारतिर अझ तीव्र गतिमा लैजाने प्रयास गरेको छु’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।