काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन्।
चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा सम्बन्ध प्रगाढ रहेको बताए।
उनले भने, ‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बझेका छौं। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ।’
नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ। आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन।’
आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले ताइवान चीनकै अभिन्न अङ्ग भएको बताए। ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको उनको भनाइ छ।
उनले भने, ‘मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ। हामी फेरि भन्न चाहन्छौं हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं।’
चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका नभइ, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए।
आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल–चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको उनले स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।