काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा उम्मेदवारको खर्चको हद तोकेको छ। आयोगले प्रति उम्मेदवार तीन लाख पचास हजारसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको हो।
'२०८० माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६(१) सँग सम्बन्धित अनुसूची-१ ले रु.३,५०,०००।- (अक्षेरेपी रू. तीन लाख पचास हजार मात्र) सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ', आयोगले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ।
उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तर्क्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगको भनाइ छ।
उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातावाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देश गरेको छ।
'त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिन भित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न समेत आयोग निर्देश गर्दछ', विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।