काठमाडौं– सहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहले राष्ट्रिय शहरी भवन संहिताको कार्यान्वयन गर्न नसकेको बताएकी छन्।
शनिबार डिप्लोमा इन्जिनियर्स एशोसिएशनले ललितपुरमा भूकम्प दिवसको सेरोफेरोमा आयोजना गरेको प्रकोप प्रतिरोधी र भौतिक पूर्वाधार गुणस्तर विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
उनले सहरी विकास मन्त्रालयले राष्ट्रिय सहरी भवनसंहिता निर्माण गरेर ७५३ वटै पालिकामा पठाएको भए पनि प्रभावकारी ढंगले लागू हुन नसकेको बताइन्।
उनले आफूले कारण खोज्दा पालिकाहरुमा प्राविधिकको कमीका कारण स्थानीय तहले कार्यान्वयन गर्न नसकेको जवाफ दिएको बताइन्। उनले सकारले बनाएका नीति नियम कार्यान्वयन गर्न पनि कुनै न कुनै रुपमा बेस बसाउन जरुरी रहेको बताइन्।
मन्त्री गुरुङले सरकारले बनाएका अनुगमन र मूल्यांकन प्रभावकारी बनाउन र अभिलेखीकरण गर्न नसके द्रुत गतिमा फड्को भनेर अघि बढाइएका कामहरु प्रभावकारी बन्न नसक्ने दाबी गरिन्।
उनले अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाएर त्यसको अभिलेखीकरण गर्न जरुरी रहेको बताइन्।
मन्त्री गुरुङले सडक पूर्वाधारका खाका प्राविधिक आधारमा नभइ मनोचाहनाका आधारमा बनाउँदा विपत्ति निम्तिने गरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।