काठमाडौं– प्रमुख दलका शीर्ष नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति पौडेलले बोलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेका हुन्।
प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न आग्रह गरे।
राष्ट्रपति पौडेलले मुलुकमा देखिएका महत्त्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न नेताहरुको ध्यानाकर्षण गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटका क्रममा राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुनहरु बनाउन आग्रह गरे। यस्तै, पौडेलले निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न पनि नेताहरुको ध्यानाकर्षण गराए।
राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो-तेरो नभनी क्षमतावान प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान सुरु गर्न पनि ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।