काठमाडौं- परराष्ट्र मन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको दाबी गरेका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ता बाहेकका सीमामा धेरै सहमति भइसकेको बताएका हुन्।
उनले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको दाबी गरे। ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता बाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ,’ मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम अघि बढिरहेको छ।’
उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्ण रूपमा सजग रहेकोसमेत बताए। सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको उनले बताए।
यसका साथै मन्त्री साउदले भारतका विदेश मन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे।
‘भारतलाई १० हजार मेघावाट विद्यतु बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउने लगायतका हामीबीच सम्झौता भएका छन्,’ उनले भने, ‘दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि जयशंकरको नेपाल भ्रमण सार्थक रह्यो।’
पञ्चेश्वरमा पनि ब्रेक थ्रु
मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरेका छन्। उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने बताए।
पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो। पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्याउने मन्त्री साउदले विश्वास व्यक्त गरे। उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताए।
मन्त्री साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।
‘विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ,’ उनले भने, ‘मैलेल कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।’ उनले दोस्रो युद्धबिरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गरे।
‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ,’ उनले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित छन्। उनी चाँडै रिहा हुनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।