काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ। बिहीबार रास्वपाको पार्टी कार्यालय वनस्थलीमा भेट भएको हो।
भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधि सभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता रहेको रास्वपाले जनाएको छ।
भेटघाटमा रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा (पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम) का विषयमा कुरा भएको बताइएको छ।
सो सडकखण्ड निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको रास्वपाले बताएको छ। ‘थप ढिलाइ नहुन चलिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो’, रास्वपाको भनाइ छ, ‘आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।