काठमाडौं– नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्।
बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन्। उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन्।
उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन्। उनले यसका लागि वडा तहदेखि कानुनी रुपमा नीति बनाउन आवश्यक रहेको उल्लेख गरिन्।
विवाह अगाडि सबै प्रक्रिया पुर्याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन्। उनले बालविवाह,महिला हिंसा,बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनसक्ने दाबी गरिन्।
नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको उनको भनाइ थियो। उनले कम उमेरमा विवाह गर्नेहरुलाई आवश्यक अभिमुखिकरण दिनुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।