काठमाडौं– सरकारले भूकम्पबाट प्रभावित जिल्लाहरुका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले उक्त निर्णय भएको जानकारी दिइन्।
यस्तै बैठकले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित एक सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौता र कार्यक्रम सम्बन्धि दस्तबेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ।
सरकारले सशस्त्र प्रहरी बल नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन प्रथम, द्वितिय र तृतीय, चतुर्थ र पाँचौं स्तरको सुरु तलवमान ग्रेड संख्या ग्रेड दर स्वीकृत गर्ने, भारतको गुजरातमा हुने दशौं भाइब्रेण्ट गुजरात ग्लोबल समिट २०२४ मा भाग लिन पुस २४ देखि २७ सम्म अर्थमन्त्रीलाई भाग लिन स्वीकृत दिने निर्णय पनि गरेको छ।
त्यस्तै २०८० पुस २७ र २८ मा काठमाडौंमा हुने नेपाल–भारत वाणिज्य सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।