काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ गएर एकीकृत समाजवादीलाई राष्ट्रिय सभामा जिरो सिट दिनुस् भनेको बताएका छन्।
पार्टीको विद्यार्थी विशेष कमिटीको कार्यक्रममा सम्बोधन गर्दै बुधबार उनले ओलीले प्रचण्डलाई गरेको प्रस्ताव भन्दै सुनाए, ‘हामी (एमाले) लाई ६ सिट दिनुस्, कांग्रेसलाई ९ सिट दिनुस्, तपाईं (माओवादी केन्द्र) ५ सिट लिनुस्। एकीकृत समाजवादीलाई जिरो सिट दिनुस्।’
अघिल्लो हप्ता राष्ट्रिय सभामा गठबन्धनले एमालेलाई पनि समेटेर अघि बढ्ने तयारी गरेको थियो। तर त्यो छलफल निष्कर्षमा पुग्न सकेन। खासगरी अध्यक्ष नेपालले नै त्यसको विरोध गरेका थिए। एमाले उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार ओलीले प्रधानमन्त्री प्रचण्डसमक्ष ‘राष्ट्रिय सभामा एमालेलाई जिरो नगर्नुस्’ भनेर आग्रह गरेका थिए। निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिइएको छ। एमालेले अगल्लै उम्मेदवारी दिएको छ।
बुधबारको सम्बोधनमा अध्यक्ष नेपालले ओलीको मती अझै नसप्रिएको बताए। उनले सबै कम्युनिस्ट मिलुन् भन्ने चाहना राखेर मात्रै नहुने, मती पनि सप्रिएको हुनुपर्ने बताए।
‘मती नै सप्रिएको छैन भने केही पनि गर्न सकिँदैन। त्यसैले हामी यस्ता गलत प्रवृत्ति बोकेकाहरूसँग जुध्छौँ। विचार गलत छ भने, दृष्टिकोण बेठीक छ भने, व्यवहार गलत छ भने जुधिन्छ। जुधेर आफ्नो पार्टीलाई अगाडि बढाउने काममा भूमिका खेलिन्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।