काठमाडौं– संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी संघ संगठनहरुसँग गरेको सन्धी सम्झौताहरुको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल सरकार पक्ष भइ विभिन्न मुलुकहरु वा सरकारी संघ संगठनहरुसँग गरेको सन्धि सम्झौताहरु भएका मिति र सम्झौताको अवस्था संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेकासमेत खुलेको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।
समिति सभापति विमला सुवेदीले समितिका निर्णय सुनाउँदै समिति सचिवालयलाई सो प्रीतलिपी उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिइन्।
उनले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्णरुप समिति सचिवालयमा सात दिन भित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिइन्।
समितिले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारत सरकारबीच भएको सम्झौताको विषयहरु समिति समक्ष जानकारी गराएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार प्रकट गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।