काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतवासले २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौताका सन्दर्भमा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन्।
संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न कुनै पनि त्यस्तो प्रावधान नराखिएको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतसँग हाल भएको सम्झौतामा कुनै पनि त्यस्तो प्रावधान राखिएको छैन, जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ। यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र आद्यावधिक समीक्षा समेत नेपाल सरकारकै संयन्त्रबाट हुन्छ। यो परिस्थितिमा यो सम्झौताबारे हामीले धेरै तनाव लिनुपर्ने कारण छैन। नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।