काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रिय सभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको जिकिर गर्दै त्यसप्रति आक्रोश व्यक्त गरे।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले निर्वाचनमा हारेकाहरुलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भिर प्रहार भएको बताएका हुन्।
राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रिय सभामा छान्ने कुरा पनि यो राजनीतिक प्रणालीमाथिको गम्भिर प्रहार भएकाले यसलाई रोक्नुपर्ने सभापति लामिछानेको भनाइ थियो। सभापति लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यतम) को आधारमा चयन गर्नुपर्ने प्रस्ताव गरे।
संवैधानिक परिषद्को सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानुनमै व्यवस्था हुनुपर्ने उनको माग थियो। उनले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी मान्यता भएको भन्दै सोहीअनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको हाईज्याकलाई रोक्न नसक्ने बताए।
सभापति लामिछानेले विद्यमान व्यवस्था ल्याउनका लागि छातीमा गोली थापेकाहरुले यो व्यवस्थामाथि हाईज्याक हुन नदिन पनि अघि बढ्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।