काठमाडौं– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत् नेपालमै खपत गर्नुपर्ने बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भएको विद्युत् अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरे।
हरित अर्थतन्त्र विद्युत्ले मात्रै उत्पादन गर्नसक्ने भन्दै उनले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत् उत्पादन गरी बिक्री गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘नेपालमा उत्पादन भएको बिजुली सबै विदेश पठाउनुहुन्छ। अनि हरित अर्थतन्त्र कसरी निर्माण हुन्छ? हरित अर्थतन्त्र विद्युत्ले मात्रै उत्पादन गर्नसक्छ। विकास गर्नसक्छ। विद्युत् यहाँ तपाईंले सबै ठाउँमा प्रयोग गर्नुभयो भने सबै हरित अर्थतन्त्र भइहाल्छ। तर जति उत्पादन हुन्छ बिक्री गर्ने, जुन दिन हामीले हरित अर्थतन्त्रको विकास गर्छौं त्यसबेला बिक्री गरे हुन्छ नि।’
सदस्य गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत् बनाउनुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।