काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच आज(सोमबार) भेटवार्ता भएको छ। नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपिएन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुला गरिदिन आग्रह गरेका छन्। उनले हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको बताउँदै आयरल्याण्ड इयुको सक्रिय सदस्य भएका कारण नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउने कुरामा विश्वस्त रहेको बताए।
उनले आयरल्याण्डमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने विश्वास पनि व्यक्त गरे।
भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदनका अध्यक्ष बुटिमेरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने विषयमा संवाद र छलफल अगाडि बढाउने विश्वास दिलाए।
अध्यक्ष तिमिल्सिनाले नेपालले आफू यसअघि देखि नै नेपालले हवाई उड्डयनमा सुधारका लागि गरिरहेको सकारात्मक पहलका बारेमा पूर्ण जानकार रहेको पनि बताए। उनले दुई देशबीचको असम्बन्धलाई सुमधुर बनाउन संसद् र सांसदहरुको महत्त्वपूर्ण भूमिका रहने बताउँदै भ्रमणबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने बताए।
नेपाल सन् २०२६ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने नेपाल सरकारको उद्देश्य रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले उक्त स्तरोन्नतिलाई दिगो, अपरिवर्तनीय तथा सहज बनाउनको लागि ठूलो साधन तथा स्रोतको आवश्यकता पर्ने भएकाले यसको लागि युरोपेली संघ लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगको खाँचो औंल्याए।
उनले व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा हाम्रा दुई देशले साझेदारी विस्तार गर्दै लैजानु पर्ने आवश्यकतामा पनि जोड दिए। उक्त भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए।
नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए।
अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान नेपाल आएका हुन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) , सभामुख देवराज घिमिरे र परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा नारायणहिटी दरबार संग्रहालय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भू लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।