धनगढी– राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि छ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
आज निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनतर्फका तीन र नेकपा एमालेतर्फका तीन जना गरी छ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
सत्ता गठबन्धन दलतर्फ नेपाली कांग्रेसका उम्मेदवार बलदेव बोहरा र नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराएका छन्। कञ्चनपुरका पूर्व जिल्ला सभापति बोहराले अन्यमा र अल्पसङ्ख्यक/अपाङ्गमा कैलाली जिल्ला सभापति भट्टले उम्मेदवारी दर्ता गराएका हुन्।
महिलातर्फमा नेकपा माओवादीकी चन्दले यसअघि उम्मेदवारी दर्ता गराएकी थिइन्। नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गता/अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।
सत्ताबाहिर रहेको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यस प्रदेशबाट उम्मेदवारी दर्ता गराएको छैन। उम्मेदवारका रुपमा पार्टीबाट छनोट भएका रोमजंग स्वारले उम्मेदवारी दर्ताको तयारी गरे पनि पार्टीबाट अर्को निर्णय नआएपछि दर्ता नगराएको बताए।
एमालेका महिलाबाट इन्दु कडरिया, अपाङ्गता तथा अल्पसङ्ख्यक महेशकुमार महरा र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी को पदावधि आगामी फागुनमा सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।