काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवी लगायत ८ हजार जनालाई निमन्त्रणा गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका ‘राष्ट्र निर्माता’को सम्मानमा हुने चियापान समारोहमा विशिष्ट व्यक्तिहरु सहभागी हुने प्रवक्ता श्रेष्ठको भनाइ छ। सोही दिन पार्टीले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ। भृकुटीमण्डपमा भेला भइ अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली र शालिकमा माल्यार्पण हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्र्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरिएको छ। जिल्लामा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाइएको छ।
प्रवक्ता श्रेष्ठका अनुसार सोही दिन ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पुरस्कार प्रदान गरिने ५। कविता लेन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ तथा सान्त्वना विजेता ३ जनालाई प्रतिव्यक्ति १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
पृथ्वी जयन्तीलाई एकता दिवस र उत्सवका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समिति समेत गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।