काठमाडौं– संघीय संसद्को माथिल्लो सदन हो राष्ट्रिय सभा। उक्त सभाका लागि सत्ता गठबन्धनकाबीचमा भएको भागबन्डामा नेपाली कांग्रेसले १० सिट पायो।
उक्त सिटमा उम्मेदवार तय गर्न पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सहमति जुटाउन सकेन। एक पदाधिकारीका अनुसार उक्त छलफलमा दुईवटा नाममामात्र सहमति भएको छ। अन्यमा विवाद देखिएको छ।
कोशी प्रदेशबाट कृष्ण सिटौला र मधेशबाट आनन्दप्रसाद ढुंगानाको नाममामात्र सहमति जुटेको र अन्यमा छलफल जारी रहेको ती पदाधिकारीले बताए। सत्ता गठबन्धनका राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला भने आजै कोशी प्रदेशको राजधानी विराटनगर गएका छन्। अब कांग्रेसले आठ सिटमा उम्मेदवार तय गर्नुपर्ने छ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर झापा जान भनेका थिए। सिटौला वरिष्ठ नेता भएकाले उनलाई यसपटक राष्ट्रिय सभाको नेतृत्व नै गरेर पठाउनुपर्ने भन्दै सभापति देउवाले उनको नाम बैठकमा राखेका थिए।
उनले यो कुरा बिहान शेखर कोइराला र गगन थापासँग सिटौलाको बारेमा कुरा गरेका थिए। लगत्तै सभापति देउवाले संसदीय बोर्डमा राखेका थिए। पार्टी कार्यालयबाट बाहिरिनुअघि सिटौलाले शेखर कोइरालालाई भेटेर बाहिरिए।
त्यस्तै, मधेश प्रदेशमा आनन्द ढुंगानाको नाममा लगभग सहमति जुटिसकेको ती पदाधिकारीले जानकारी दिए।
बागमती, लुम्बिनी र कर्णालीमा विवाद जारी
नेपाली कांग्रेसले पाएको बागमती र कर्णालीको सिटमा तय गर्ने उम्मेदवारमा भने विवाद जारी रहेको ती पदाधिकारीले बताए।
बागमती प्रदेशमा भने उम्मेदवार टुंग्याउन केही विवाद देखिएको उनले बताए। बागमतीमा तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेत र काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नाम बैठकमा आएको थियो। यी नाममा दुवै पक्षले अडान राखेपछि विवाद भएको हो।
संस्थापन पक्ष बस्नेतको लविइङमा रहेको भने शेखर गगन समूह बानियाँको पक्षमा उभिएका छन्। बागमतीमा महिलातर्फ पनि दुईवटा नाम आएका छन्। विष्णुदेवी पुडासैनी र उमा दाहालको नाममा छलफल भएपछि सहमति हुन सकेन।
गण्डकी प्रदेशबाट सोभियत अधिकारीको नाममा सहमति हुने सम्भावना देखिएको छ। अधिकारी तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट कास्कीको जिल्ला सभापति थिए। उक्त क्षेत्रबाट गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन्।
श्रेष्ठलाई कुनै पक्षले साथ नदिएका कारण उनको दाबी फितलो देखिएको छ। प्रदेशबाट अल्पसङ्ख्यक/अपाङ्ग शेखर पक्षलाई दिइएको छ।
लुम्बिनी प्रदेशबाट पुष्पा भुसाललाई ल्याउने नाम संस्थापन पक्षले अघि सारेको थियो। अर्घखाँचीमा टोपबहादुर रायमाझीसँग पराजित भएकी उनलाई पुन: ल्याउन नहुने माग पनि उठेको छ। उनको विकल्पमा इतर समूहले विष्णु सापकोटाको नाम लिएका छन्। यसमै सहमति हुने सम्भावना रहेको ती पदाधिकारीले बताए।
कर्णालीमा विवाद देखिएको छ। खुला सदस्यमा संस्थापनबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायाको नाम लिइएको छ भने इतर पक्षले भूपेन्द्र जंग शाहीको नाममा अडान लिएको छ।
सुदूरपश्चिमममा खुलाबाट कञ्चनपुरका पूर्व जिल्ला सभापति बलदेव बोहरा र अल्पसङ्ख्यक/अपाङ्गमा कैलाली जिल्ला सभापति नारायण दत्त भट्टको नाम चर्चामा छ। बोहरा यसअघि देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार पनि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।