काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकका राष्ट्रपति कार्यकारी भूमिकामा देखिएको टिप्पणी गरेका छन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएर गएको विधेयक संविधान विपरीत रोकेको दृष्टान्त पेस गर्दै उनले संविधानले सेरेमोनियल भने पनि राष्ट्रपति कार्यकारीको भूमिकामा देखिएको बताए।
आइतबार संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका भाग लिँदै सभापति लामिछानेले राष्ट्रपतिलाई संवैधानिक व्यवस्था विपरित कार्यकारी भूमिका आउने नदिने खालको प्रावधान संविधानमा नै व्यवस्था गर्नुपर्ने बताए।
राष्ट्रपतिलाई संविधान विपरीत चल्न नदिने प्रावधान संविधानमा भएमात्रै संघीय संसद्को दुवै सदनबाट पठाएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ थियो।
सभापति लामिछानेले संवैधानिक परिषद्को बैठकमा परिषद्का सदस्यहरु अनिवार्य रुपमा उपस्थिति हुने प्रावधानको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।