काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिस्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङले भेटवार्ता गरेका छन्। शनिबार हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपसचिव युगाङसहित चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति यादवसँग भेटवार्ता गरेका हुन्।
भेटमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबिच दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको बताइएको छ।
उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रही आएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र अरू उच्च बनेकोमा खुसी व्यक्त गरेका छन्। 'हाम्रा दुई मुलुकहरूले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठुलो महत्त्व दिएका छन्', उनको भनाइ थियो।
उपराष्ट्रपति यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले हाम्रो सम्बन्धलाई थप उचाइमा पुर्याउने तथा सहकार्यका क्षेत्रमा थप विस्तार हुनेमा आफू विश्वस्त रहेको बताए।
यसैगरी, उपसचिव युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउनुहुँदै नेपाललाई विशेष महत्त्व दिएरै यो सम्भव भएको बताएका थिए।
'नेपाल र चीनबीच प्राचिनकालदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई भगवान् गौतम बुद्धको सिद्धान्तले थप प्रगाढ बनाएको छ', उनको भनाइ थियो, 'नेपाल र चीनबीच धेरै समानता छ। यो समानताकै कारण दुई मुलुकबीच उच्चस्तरीय र जनस्तरीय भ्रमणहरू बढी हुने गरेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।