काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाहीको बरथवा घटनाप्रति प्रतिक्रिया व्यक्त गरेका छन्।
ललितपुरको बालकुमारी घटेको घटना नसेलाउँदै शुक्रबार सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको भन्दै उनले लोकतन्त्रमा राज्यको यस खालको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका हुन्।
'विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ', शनिबार सामाजिक सञ्जालमा उनले लेखेका छन्।
उनले दुखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग माग गरेका छन्।
पुस १३ गते कोरियन भाषा परीक्षा सम्बन्धित विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई युवाको मृत्यु भएको थियो। पुस २० मा सर्लाहीको बरथवामा नगर अस्पताल हस्तान्तरणको विषयमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।