काठमाडौं– प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसले शुक्रबार सर्लाहीको बरहथवामा भएको घटनाको अनुसन्धान गर्न माग गरेको छ।
पार्टीसचिव कृष्णप्रसाद पौडेलले बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनामा सत्यतथ्य छानबिन गर्न माग गरेको हो।
उक्त घटनापछि उत्पन्न परिस्थितिको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।
साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिलसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।