काठमाडौं- पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा गंगा आरती र दीप प्रज्वलनको फोटो/भिडिओ खिच्न नपाइने भन्ने सूचना आफ्नो नरहेको स्पष्ट पारेको छ।
कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सूचनाको खण्डन गरेकी हुन्। बुढासुब्बा डिजिटल प्रालिले कोषको लोगो दुरुपयोग गरी सूचना प्रकाशित गरेको आरोप उनले लगाएकी छिन्।
‘बुढासुब्बा डिजिटल प्रालिले यस श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ। यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको प्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ,’ कोषको विज्ञप्तिमा भनिएको छ, ‘उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ। उक्त सूचना प्रकाशित प्रति कोषको कुनैपनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं।’
बिहीबार बुढासुब्बा डिजिटल प्रालि र पशुपति क्षेत्र विकास कोषको लोगोसहित जारी एक सूचनामा सो क्षेत्रमा खिचिएको भिडिओ व्यावसायिक प्रयोजनका लागि प्रयोग भएको थाहा पाइएमा कारबाही हुने चेतावनी दिइएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।