सुर्खेत- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन्।
अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने समेत दाबी गरे। अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भएको मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै थापाले आन्दोलनको वातावरण निर्माण गर्न कार्यकर्तालाई आग्रह गरे।
पार्टीको कर्णाली क्षेत्र स्तरिय प्रशिक्षणको सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गर्दै थापाले सबै राष्ट्रबादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिहरुबीच एकता र मोर्चा निर्माण गरि आन्दोलनको आधिबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिए।
राप्रपा सत्ता केन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण भन्दै द्वैध नीति त्यागी आन्दोलनको बाटोबाट मात्र अघि बढ्न समेत सुझाव दिए। आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बृहत मोर्चा निर्माण गरि आन्दोलनमा जान आफूले भुमिका खेलिरहेको समेत बताए। कार्यक्रममा उपाध्यक्ष गोबिन्द बिक्रम शाह, ईश्वर श्रेष्ठ ,धनबहादुर थापा , सुर्य शाही, जीवन चन्द लगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।