काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँ जाने भएका छन्। रुपन्देहीको बुटवल र तनहुँमा गरी राष्ट्रपति पौडैले फरक–फरक कार्यक्रममा सहभागी हुनेछन्।
शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागि हुनका लागि राष्ट्रपति पौडेल बुटवल जान लागेका हुन्। राष्ट्रपति पौडेलको उपस्थितीमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।
राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन्।
त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रवार नै गृहजिल्ला तनहुँ पनि जानेछन्। राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।
राष्ट्रपति पौडेल दोस्रो पटक गृहजिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन्। यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।