काठमाडौं– नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ। परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा ऊर्जा जलश्रोत तथा सिचाई सचिव गोपालप्रसाद सिग्देलले र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले बिहीबार नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार आपसी हित हुने गरी नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्न आवश्यक कदम चाल्ने, क्षेत्रीय व्यापारलाई वृद्धि गर्ने र दुई मुलुकबिच विद्यमान, कार्यान्वयनमा रहेका र प्रस्तावित अन्तरदेशिय प्रसारणलाई उपयोग गरिने छ। यस्तै जलविद्युत् आयोजनाको विभिन्न खण्डमा नेपाल र भारतको लगानी बढाउन उल्लेख छ।
यस्तै नेपाल र भारतबिच अन्तरदेशिय प्रसारण लाइन आयोजनाको विकास यथाशीघ्र गरिने जनाइएको छ।
सम्झौतामा भनिएको छ, ‘दुवै पक्षबिच विद्युत् निर्यातको परिमाण १० वर्षमा १०,०००(दश हजार) मे.वा. सम्म पुर्याउने तथा यसको लागि आवश्यक विद्युत् उत्पादन तथा प्रसारण संरचनाहरुको निर्माण र विकास गरिने छ। यस सम्झौताको अवधि २५ वर्ष रहेको छ र सम्झौता प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुनेछ।’
सम्झौतामा अघि भनिएको छ, ‘यस सम्झौता बमोजिम सम्झौताको अवधि वा द्विपक्षीय व्यापारको परिमाण थप गर्नु परेमा प्रसारण लाइनको क्षमताको आधारमा कुनै पक्षले पेस गरेको प्रस्तावको आधारमा नेपाल भारत विद्युत् क्षेत्रको सहकार्यको लागि गठित (Steering Committee/Joint Working Group) ले गरे बमोजिम हुने छ।'
यस्तै परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस जयशंकरले कुशाहा–कटैया १३२ केभीको सेकेण्ड सर्किट, परवानीपुर–रक्सौल १३२ केभी सेकेण्ड सर्किट र मैनहिया–न्यू नौतनवा १३२ केभी प्रसारण लाइनको उद्घाटन पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।