काठमाडौं– राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटमा गठबन्धन दलहरुबीच अझै सहमति जुट्न सकेको छैन। बिहीबार बिहान सहमतिका लागि बैठक बसेपछि सहमति हुन नसकेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले सरकारमा सहभागी ४ राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेताहरुको बीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगिन नसकेको बताए। उनले आज साँझ वा शुक्रबार बिहान पुनः बस्नेगरी बैठक सकिएको बताए।
उनले भने, ‘सरकारमा सहभागी ४ राजनीतिक दलका नेताहरुको छलफल भएको छ। मुलतः राष्ट्रिय सभाको विषयलाई लिएर छलफल भयो। थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहन बस्ने गरी उठेका छौं। एमालेसँगको छलफल, समसामयिक राजनीतिक विषयमा भइरहेको हुनाले एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ। गठबन्धनका राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।