काठमाडौं– नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरे।
नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ। आयोगको बैठकमा सहभागी हुनुका साथै विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।
जयशंकरले बिहीबार बिहान ११ बजे राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्ने छन्। त्यस्तै १२ बजे प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नेछन्।
संयुक्त आयोगको बैठक बिहीबार दिउँसो १ बजेदेखि सुरु हुनेछ। परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग नेपाल र भारतबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो। यद्यपि कोभिड महामारीका कारण पछिल्लो २ वर्षमा संयुक्त आयोगको बैठक हुन सकेको थिएन। पछिल्लोपटक २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो।
यसपटक संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा बस्न लागेको हो। बैठकको अध्यक्षता परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन्।
बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विविध आयामबारे समीक्षाका साथै छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपालले व्यापार असन्तुलन कम गर्ने, आयात–निर्यातको सन्तुलन कायम गर्ने तथा उर्जा व्यापारको विषयलाई महत्त्व दिएर अजेन्डामा समावेश गरेको छ।
बैठकमा नेपाल–भारत विद्युत् व्यापारका सन्दर्भमा पनि समझदारी हुने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठमा गरेको भारत भ्रमणका क्रममा नेपालबाट भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।