काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर लैजाने विषयमा सत्तारुढ गठबन्धनमा आज (बिहीबार) पनि छलफल हुँदैछ। त्यसका लागि बिहीबार बिहान ९ बजेतिर गठबन्धन दलका नेताहरुको बैठक बस्दै छ।
यसअघि बुधबार पनि सत्तारुढ गठबन्धनका ४ दल– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा आफूलाई शुन्य नबनाउन भनेर एमालेबाट प्रस्ताव आएको ब्रिफिङ गरेका थिए।
गठबन्धनको बैठक अगाडि बुधबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठक बसेको थियो। उक्त बैठकमा पनि एमालेलाई राष्ट्रिय सभा निर्वाचनमा समेट्नेबारे छलफल भएको थियो।
बुधबार सत्ता गठबन्धनको बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। बुधबार प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो।
राष्ट्रिय सभाका २० जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। कार्यकाल सकिनुअगाडि नै माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।
कार्यकाल सकिने राष्ट्रिय सभाका २० जना सांसद्मध्ये सबैभन्दा बढी ९ जना एमालेका छन्। यस्तै, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र १ जना सांसदको पदावधि सकिँदैछ।
जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ।
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।