काठमाडौं– सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशीको जीवनरक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन्।
नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरबारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले विपिन निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गरेका हुन्। ‘नेपालको संसद र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ उनले राजदूतसँग भने।
सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरु इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको बताए। हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौं मुक्त गर्दा पनि विपीनलाई बन्धक नै बनाएको छ।
गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुने दुःखद रहेको बताए। उनले विपीन व्यक्तिगतरुपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिए।
राजदूत गोल्डवेरगरले विपीनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसद्बाट पनि संकल्प प्रस्ताव पारित गरेर अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राखे।
भेटमा दुई मुलुकबीचको सम्बन्ध, कृषि प्रवर्द्धन कार्यक्रम लगायतका विषयमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।