काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
मंगलबार काठमाडौंमा यश कुमारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गरेका हुन्।
उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो? भन्दै प्रश्न गरे। मन्त्री राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताए।
उनले नेपाली समाज र मान्ने वा नमान्ने अर्को पाटो रहेको बताए। मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैं तयार रहेको बताए। उनले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताए।
मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको बताए। भावनामा आएर मात्रै देश नचल्ने उनको भनाइ छ।
मेयर साम्पाङप्रति लक्षित गर्दै उनले मेयरको कार्यालयमा राजाको फोटो झुण्ड्याइएको भन्दै यसरी समाज कता जान्छ भन्दै प्रश्न गरे।
उनले भने, ‘आज नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइयो, ठिकै छ त। भावनामा आएर मात्रै हुँदैन। कसैको मेयरको अफिसमा राजाको फोटो छ रे। फर्किने उल्टो हो त। गोरु पछिपछि गाढा अघि अघि। यो गतिविधिले जान्छ कता समाज? देश जिम्मा लिन्छु भन्ने साथीहरुले गम्भीरताका साथ समीक्षा गर्नुपर्छ। मलाई त मन्त्री पदमा बसिराख्नु भन्ने छैन। पहिल्यै छोडिदिन्छु आउनुस् साथीहरु भनेकै छु। बुवाआमाले सल्लाह गरेर यो छोरालाई मन्त्री बनाउनैपर्छ भनेर जन्माएको पनि होइन। एउटा किसानको छोरो हो भयो। फोटो झुण्ड्याएर होइन केही काम गरौं भनेर लागेको छु, कसैले हात कसैले खुट्टा समात्छ। कसैले पासो लाउँछ, के अपराध गरेँ, मैले त अपराध गरेको छैन। पशुपति हाम्रो सभ्यता र सम्पदा हो। सभ्यताको पनि सभ्यता हो। त्यहाँ गएर गू, मूत सोह्रेँ। मलाई पशुपति बिरोधी नै बनाउन खोजे, पशुपति त भगवान नै रहेछ। पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।