काठमाडौं– सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार र रजिष्ट्रार पद रिक्त भएको छ। मुख्य रजिष्ट्रार रहेका लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीश बनाएपछि उक्त पद रिक्त भएको हो। न्याय परिषद्ले केही दिनअघि मुख्य रजिष्ट्रार रहेका कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीश नियुक्ति गरेको थियो।
योसँगै दुई पदका लागि लविइङ पनि सुरु भएको छ। सर्वोच्च अदालतसँगै कानुन समूह र सरकारी वकिलहरुले पनि दाबेदारी पेस गर्दै लविइङ सुरु गरेका छन्। पदपूर्तिका लागि न्याय सेवा आयोगको सचिवालयले गृहकार्य थालेपछि लविइङ पनि सुरु भएको हो। सम्भवत मंगलबार आयोगको बैठक बस्ने र न्याय सेवाको उच्चतम पद मुख्य रजिष्ट्रार र रजिष्ट्रारमा सिफारिस गर्ने तयारी देखिन्छ।
न्याय परिषद्सँगै न्याय सेवा आयोग पनि छ। आयोगको अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ हुन् भने सदस्यमा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, महान्यायाधिवक्ता दिनमणि पोखरेल, कानुनमन्त्री धनराज गुरुङ, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी छन्। उनीहरुले सर्वसम्वत रुपमा २ पदमा सिफारिस गर्ने छन्।
यी हुन् मुख्य रजिष्ट्रार पदमा दाबेदार
वरिष्ठताको आधारमा हेर्दा मुख्य रजिष्ट्रारको जिम्मेवारी हाल न्याय परिषद्का सचिव देवेन्द्रराज ढकाल मुख्य दाबेदार हुन् उनीसँगै सर्वोच्च अदालतकै अर्का रजिष्ट्रार नारायणप्रसाद पन्थीको पनि दाबेदारी देखिन्छ।
उनीहरू दुवै न्याय सेवाभित्रकै विशिष्ट श्रेणीका अधिकृत हुन्। २०५२ सालमा एकसाथ न्याय सेवाका अधिकृत भएका उनीहरू द्वितीय श्रेणी (उपसचिवस्तर)मा पनि एकै दिन २०५९ चैत २१ मा बढुवा भएकाले उनीहरु दुवै उक्त पदमा प्रवल दाबेदार हुन्। प्रथम श्रेणीमा भने ढकाल झण्डै २ वर्ष पहिला उक्लिए, २०६६ चैत १७ मा। पन्थी २०६८ माघ १५ मा मात्र सहसचिव भए।
सचिवमा पनि ढकाल नै पहिला बढुवा भएकाले उनको पहिलो दाबी देखिन्छ। पन्थी त्यसको करिब ३ महिनापछि अर्थात् २०७६ वैशाख १७ गते सचिवमा बढुवा भएका थिए। उनीहरुसँगै उक्त पदको आकांक्षी अरु २ जना थपिएका छन्। कानुनसचिव उदयराज सापकोटा र सरकारी वकिल समूहका विश्वराज कोइराला। यसअघि राजन भट्टराई सरकारी बकिल समूहबाट मुख्य रजिष्ट्रार नियुक्त भएका थिए।
कानुनसचिव सापकोटा २०७७ जेठ २८मा सचिव भएका थिए भने कोइराला उनीभन्दा अघि २०७६ वैशाख १७ गते सचिवमा बढुवा भएका थिए। २०७४ सालबाट नेपाल सरकारका मुख्य सचिवसरहको मुख्य रजिष्ट्रार पद सिर्जना गरिएको थियो। उनी अहिलेसम्म विवादमा नपरेका प्रशासक मानिन्छन्। न्यायाधीश र कर्मचारीसँग उनको सम्बन्ध रहेको मानिन्छ।
कास्कीमा जन्मेका ढकाल भद्र मिजास अनि व्यवहारमा चलाख र कूटनीतिक मानिन्छन्। तर, उनीसँग सर्वोच्च अदालतमा बसेर काम गरेको धेरै अनुभव छैन। अर्का दाबेदार नारायणप्रसाद पन्थी भने सर्वोच्चमा तुलनात्मक रूपमा बढी अनुभव भएका प्रशासक हुन्। ढकाल मुख्य रजिष्ट्रार भएमा केही समय पन्थी न्याय परिषद्को सचिव र त्यसपछि उच्च अदालतको न्यायाधीश नियुक्त हुन विकल्पमा पनि देखिन्छ।
रजिष्ट्रारका तीन दाबेदार ज्ञवाली, पौडेल र आचार्य
सर्वोच्चमा दुई रजिष्ट्रारको दरवन्दी भएका कारण एक पद रिक्त रहेको छ। निर्मला पौडेल न्यायाधीश नियुक्त भएपछि उनको स्थानमा रजिष्ट्रारका लागि तीन प्रतिस्पर्धी देखिएका छन्।
अन्य सेवाका योग्यले पनि पाउनुपर्ने दाबी यो पदमा पनि सुरु भएको छ। रजिष्ट्रारमा सर्वोच्चवाट न्याय समूहका विमल पौडेल र नेत्रप्रकाश आचार्यको दाबी देखिन्छ। उनीहरू हाल सहरजिष्ट्रार (सहसचिवस्तर)मा कार्यरत छन्। केही समयअघि मुद्दा फाँटको जिम्मेवारी पनि सम्हालेका पौडेल यसको प्रमुख दाबेदार देखिन्छन्। उनी २०७१ पुस १५ गते उक्त पदमा बढुवा भएका थिए। उनीपछि आचार्य छन्। आचार्य पनि सोही दिन बढुवा भएका थिए।
तर, रजिष्ट्रारका लागि सरकारी वकिल समूहमा रहेका खेमराज ज्ञवालीले पनि दाबेदारी पेस गरेका छन्। उनी २०७० माघ ९ गते उक्त पदमा बढुवा भएका थिए। यसरी हेर्दा उनी बरियताक्रममा अगाडि देखिन्छन्। न्याय सेवा आयोगमा महान्यायाधिवक्तासमेत हुने भएकाले उनले सरकारी समूहबाट रजिष्ट्रारको दाबी गर्ने लविइङ गरेको देखिन्छ।
त्यसभन्दा तल गएमा हरिराज कार्की, यमबहादुर बुढामगर, भद्रकाली पोखरेल, मानबहादुर कार्कीलगायत पनि यस पदका लागि योग्य छन्। उनीहरू सबै २०७१ मा सहसचिव भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।