काठमाडौं–शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ।
ज्योतिषबाट साइत जुराएर बिहीबार साँझ ५ः५५ बजे सार्वजनिक १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान मरिहत्ते गर्ने पात्रहरूको कथा पेस गर्छ। रेशम पात्रको अमेरिकाको भिसा लागेपछिको परिस्थितिलाई टिजरले चित्रण गरेको छ।
अमेरिकी सपना पालेर बसेको रेशम पात्रको डिभी पर्छ। त्यसपछि उसलाई अमेरिका जानबाट रोक्न केही पात्रहरू लागिपर्छन्। यस्तैमा कुनै पनि हालतमा अमेरिका जाने अड्डी कसेर बसेकी एक युवतीले आफ्नो सपना पूरा गर्न रेशम र उनको आमालाई नै किडन्याप गरेको देखिन्छ। फिल्मले नेपालीहरुको अमेरिका मोहको कथा भन्ने टिजरबाट प्रष्ट हुन्छ।
निरोज महर्जनको कथा तथा निर्देशन रहेको फिल्ममा रेशम पात्रको भूमिकामा अभिनेता विनय श्रेष्ठले अभिनय गरेका छन्। यसमा उनीसहित सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय रहेको छ।
फिल्ममा सुसन प्रजापतीको छायांकन, आकाश बरालको स्क्रिप्ट लेखन, साहिल खानको ट्रेलर, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, रोहित शाक्यको ब्याकग्राउन्ड म्यूजिक, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा सुरेन्द्र पौडेलको सम्पादन छ। ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।