खोटाङ– सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई युवाको मृत्यु भएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित झाँगाझोली नजिकै आज विपरीत दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २० वर्षीय सुसल राई र मोटरसाइकलको पछाडि बसेका खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षकी मुनाकला राईको मृत्यु भएको हो।
काठमाडौंबाट खोटाङ आउँदै गरेको बा ६० प ३५४५ नंको मोटरसाइकललाई विपरीत दिशा (रामेछाप)बाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नंको बसले ठक्कर दिँदा मुनाकलाको घटनास्थलमै र सुसलको खाल्टेस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब निरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए।
दुर्घटनापछि बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दा तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए।
स्थानीय बासिन्दा एवम् अन्य सवारी साधनका यात्रुले बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। यातायातका सवारी साधनको निकै चाप हुने उक्त राजमार्ग अवरुद्ध हुँदा काठमाडौं आवतजावत गर्ने सवारी साधनहरु दुर्घटनास्थलमै लर्को लागेको थियो। दुर्घटनापछि आक्रोशित भीडले अवरुद्ध गरेको सडक करिब दुई घण्टापछि बिना सर्त खुलाइएको प्रहरीले जनाएको छ।
मृतकको शवपरीक्षणका लागि सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुर्याएको पाइएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए। ‘दुर्घटना भएको थाहा पाएलगत्तै हलेसीबाट हिँडेका हामीहरु भर्खर घटनास्थल आइपुगेका छौँ । मृतक दुवै जनाको शवपरीक्षणका लागि सिन्धुली माडी पुर्याइएको छ भन्ने जानकारी पाएका छौं’, उनले भने, ‘शव भएको ठाउँमा पुग्न अझै समय लाग्छ । कुन सहमतिमा शव उठाइएको छ भन्ने थाहा छैन। त्यहाँ पुगेपछि यथार्थ बुझेर निर्णय लिन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।