काठमाडौं– बालबालिकाहरुले जलवायु परिवर्तनका कारण बालबालिकाहरुमा परेको प्रभाव न्यूनीकरणका लागि पहल गरिदिन सरोकारवाला निकायहरुसँग आग्रह गरेका छन्।
बुधबार काठमाडौंमा सेभ द चिल्ड्रेनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले जलवायु परिवर्तनको असरका कारण बालबालिका र किशोरकिशोरीहरुमा विभिन्न खाले प्रभाव परेको भन्दै त्यसलाई न्यूनीकरण गरिदिन सरोकारवाला निकायहरुसँग आग्रह गरेका हुन्। उनीहरुले जलवायु परिवर्तनका कारण युवा, किशोरकिशोरी र बालबालिकामा मानसिक चिन्ता बढेकोसमेत बताए।
कार्यक्रममा सहभागी प्रज्ञा कार्कीले जलवायु परिवर्तनका कारण बालबालिकाहरु आफ्नो स्वस्थ खान पाउने अधिकारबाटसमेत वञ्चित भएको बताइन्। उनले अहिले समाजमा खान नपाउनु मात्रै समस्या नभएको र स्वास्थ्यवर्द्धक खान नपाउनु पनि त्यत्तिकै ठूलो समस्या रहेको बताइन्।
उनले भनिन्, ‘अन्न बाली नै नफलेपछि कसरी फलाउने? के प्रयोग गरेर फलाउने? त्यसपछि रसायनिक पदार्थको अत्याधिक प्रयोग किन नहुनु? म ठूलो हुँदै गर्दा मेरो परिवारमा फलफूल र तरकारीमा धेरै नै कम निर्भर हुनुपर्दथ्यो। सकेसम्म गाउँबाट ल्याउने तरकारी र फलफूलमा बढी जोड दिनुहुन्थ्यो। अहिले हाम्रो समाजमा खान नपाउनु मात्रै समस्या होइन, स्वास्थ्यवर्द्धक खान नपाउनु पनि त्यत्तिकै ठूलो समस्या रहेछ।’
त्यस्तै सेभ द चिल्ड्रेनका आयुष श्रेष्ठ जोशीले जलवायु परिवर्तनका कारण बालबालिका, किशोरकिशोरी र युवापुस्तमा परेको प्रभावबारे जानकारी राख्न र सरोकारवाला निकायमा आवाज उठाउनका लागि कार्यक्रम आयोजना गरेको बताए। उनले सेभ द चिल्ड्रेनले बालबालिकाहरुको जीवनमा जलवायु परिवर्तनका कारण परेको असर र जनजीवनमा पारेको असरका बारेमा विगत दुई वर्षदेखि कार्यक्रमहरु गर्दै आएको बताए। उनले जलवायु परिवर्तनले बालबालिकाहरुमा परेको असरबारे नीति निर्माण गर्ने तह र देश तथा विदेशमा पनि बालबालिकाहरुको हक र हीतका लागि आवाज उठाइरहेको बताए।
कार्यक्रममा कर्णाली, मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाका बालबालिका, किशोरकिशोरी र युवाहरु सहभागी भएका छन्। उनीहरुले जलवायु परिवर्तनका कारण आफ्नो गाउँ ठाउँमा कृषि उत्पादनमा कमी, मानसिक एवं शारीरिक समस्या बढेको बताए। जलवायु परिवर्तनका कारण पानीबाट हुने संक्रमण बालबालिकाहरुमा तीव्र रूपले बढेको छ।
जलवायु परिवर्तनले जीवन शैलीमा परिवर्तन र तीव्र वनविनाशका कारण मलेरिया, डेंगुजस्ता रोगको प्रकोप बढ्दै गएको र त्यसको शिकार बालबालिकाहरु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।