काठमाडौं– मुद्दा मिलाई दिन्छु भन्दै ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन्।
आपराधिक विश्वासघात र सङ्गठित अपराधसमेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै खड्काका परिवारबाट पटक–पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनीहरुमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ।
गाँजासहित महिला पक्राउ
काठमाडौं महानगरपालिका–१५ तल्लो विजेश्वरीस्थित विष्णुमती करिडोरकी ३३ वर्षीया इन्दिरा श्रेष्ठलाई गाँजा जस्तो देखिने अवैध लागूऔषध एक सय ९० ग्रामसहित मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनको किराना पसलमा लागूऔषध बिक्री वितरण गरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।